Headlines News :
Home » » रक्सीको नसामा परिवारका पाँचै जनाको हत्या

रक्सीको नसामा परिवारका पाँचै जनाको हत्या

Written By Unknown on Thursday, August 20, 2015 | 7:10 PM

hatya
४ भदौ, काठमाडौं । प्रहरीले १२ वर्षदेखि रहस्यमा रहेको बडिखेल हत्याकाण्डको अनुसन्धान सकेको छ । मदिराको नसामा चन्द्रबहादुर पहरीले बहिनी, ज्वाइँ र भान्जाभान्जीसहित पाँचजनाको हत्या गरेको खुलेको छ । पहरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
ललितपुरको तत्कालीन बडिखेल गाविसको खेलगाउँ (हाल गोदावरी नगरपालिका) को नगरकोटी परिवारकै पाँचैजनाको घाँटी रेटेर बीभत्स हत्या भएको थियो । १६ असोज ०६० मा भएको सो हत्याको रहस्य हालसम्म खुलेको थिएन ।
महानगरीय अपराध महाशाखाले सूक्ष्म तरिकाले घटनाको अनुसन्धान गरी पहरीले नै हत्या गरेको तथ्य बाहिर ल्याएको हो । पहरीले बहिनी धनकुमारी, ज्वाइँ हीरालाल भन्ने भानु, भान्जीहरू लुरी र टुकुली तथा भान्जा रवीन्द्र नगरकोटीको हत्या गरेको नयाँ पत्रिकामा खबर  ।  प्रहरीले यसअघि पनि शंका गरी पहरीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनको संलग्नता खुलेको थिएन ।
पारिवारिक झगडाले सो हत्या भएको महानगरीय प्रहरी आयुक्त एआइजी विज्ञानराज शर्माले बताए । प्रहरीका अनुसार घटनाको ५–६ दिनअघि नै पहरीले बहिनी र ज्वाइँलाई मार्ने धम्की दिएका थिए । ज्वाइँ र आफ्नो श्रीमतीको अनैतिक सम्बन्ध रहेको भन्दै उनीहरूबीच झगडा भएको थियो ।
१६ असोज ०६० अष्टमीका दिन दुवै परिवारले राँगा काटेर भोज खाएका थिए । मदिराको नसामा राति १२ बजे उनी मार्ने योजनाका साथ ज्वाइँको घरमा गएका थिए । दुई परिवारबीचको दूरी करिब ६ मिनेटको बाटो रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ज्वाइँको घरको ढोका बन्द भएकाले पहरी ट्वाइलेटमाथिको छानाबाट घरको भर्‍याङमा उक्लिए । घरमा मासु काट्न राखिएको दाउ बोकेर उनी बहिनी–ज्वाइँ सुत्ने माथिल्लो कोठामा गएका थिए । कोठामा सुतिरहेका दुईजनालाई दाउले घाँटीमा पटक–पटक हानेर हत्या गरेका थिए ।
बहिनी–ज्वाइँ सुत्ने कोठा भए पनि त्यो दिन भान्जा रवीन्द्र र भान्जी लुरी सुतेको हत्यापछि मात्र पहरीले थाहा पाएका थिए । कोठामा छिरेको जूनको उज्यालोबाट भान्जाभान्जी रहेको थाहा पाएको प्रहरीमा उनले बयान दिएका छन् । भान्जाभान्जीको हत्यापछि दाउ लिएर तल्लो तलामा गई उनले बहिनी, ज्वाइँ र अर्की भान्जीको हत्या गरेको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए ।
‘तीनैजनालाई पटक–पटक दाउले घाँटीमा हानेर हत्या गरेपछि उनी दाउ नै लिएर निस्केका थिए,’ एसएसपी खनालले भने, ‘घरको पूर्वतर्फ रहेको खोलामा पुगेर रगत लागेको कपडा फालेर नुहाई अर्काे कपडा लगाई बाँसको झाडीमा चुरोट खाई बसेको अनुसन्धानमा खुलेको छ ।’

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar