अरुण बराल/ टिप्पणी
३१ साउन, काठमाडौं । नेपालबन्द भव्य रुपमा सफल भएको भन्दै आइतबार बेलुका निकालिएको प्रेस विज्ञप्तिको पुछारमा सबैभन्दा पहिले माओवादी अध्यक्ष मोहन वैद्यको हस्ताक्षर छ । वैद्यको मुन्तिर महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
राजनीतिको कखरा बुझ्ने सबै नेपालीलाई थाहा भएकै कुरो हो कि महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोहरु वर्तमान संविधानसभाका विरोधी होइनन् । उनीहरुले अहिले पनि संविधानसभामा प्रतिनिधत्व गरिरहेका छन् र उनीहरुको माग यतिमात्रै छ कि यो संविधानसभाले मधेसवादी एवं आदिवासीहरुको पहिचानलाई सुनिश्चित गर्ने गरी संविधान बनाओस् । यसका लागि ६ प्रदेशलाई परिमार्जन गरोस् ।
तर, मोहन वैद्य र उनको पार्टीको कुरो अलि बेग्लै छ । यो संविधानसभा बहिस्कार गरेको दल हो । दोस्रो संविधानसभाले संविधान बनाउन सकेन र भंग भयो भने संविधानसभाको खरानीमा विजयोत्सव मनाउन पर्खेर बसेको दल हो वैद्य माओवादी ।
नेपाल बन्द सफल भएको भन्दै जनतालाई धन्यवाद दिने वैद्यले यो भन्न सक्दैनन् कि यो संविधानसभाले ६ प्रदेशलाई परिमार्जन गरेर संविधान बनाओस् । उनी चाहन्छन्, यो संविधानसभा असफल होस् र विघटनै होस् । यो संविधानसभा भस्म होस् ।
वैद्यले ६ प्रदेशमा असहमत भएर वा संविधानको मस्यौदा परिमार्जन गरियोस् भन्ने माग राखेर नेपाल बन्द गरेकै होइनन् । बन्न लागेको वातावरणलाई बिथोलेर मुलुकलाई अस्थिर बनाइराख्ने ध्वंशात्मक उद्देश्य बोकेको छ वैद्य माओवादीले ।
तर, सौताको रीसले पोइको काख बिगार्ने भन्ने आहानजस्तै प्रचण्डसँग चिढिएका मधेसवादी दलहरुले रातारात वैद्यसँग सहकार्य गरे पनि उनीहरु यही संविधानसभाबाटै संविधान बनोस् भन्ने चाहना बोकेका दलहरु हुन् । यी दलहरुले वैद्य माओवादीको जस्तो ध्वंशात्मक उद्देश्य बोकेका छैनन् ।
मधेसवादी दलहरुको माग यही संविधानसभित्रबाटै सम्बोधन गर्न सम्भव छ । तर, वैद्य माओवादीको माग पूरा गर्ने हो भने संविधानसभा नै भंग गर्नुपर्छ । अहिलेको संविधानसभा भंग गर्दा त्यसको प्रत्यक्ष फाइदा वैद्यलाई हैन, ज्ञानेन्द्रलाई पुग्छ ।
अनैतिक खेल
संविधानसभाको निषेध चाहने वैद्य माओवादी र संविधानसभाको भत्ता खाने मधेसवादी दलहरु मिलेर दुईचार दिन नेपालबन्द गर्दा त्यो सफल हुन सक्ला, तर यसमा राजनीतिक नैतिकताचाँहि कहाँनेर बाँकी रहला ? दुबै पक्षले जवाफ दिनुपर्ने विषय हो यो ।
हिजो वैद्यले प्रचण्डलाई संविधानसभाबाट बाहिर निकाल्न चाहेका थिए । आज आवेशमा आएर राजेन्द्र महतोहरुले संविधानसभा छाडे भने वैद्यले जीत महसुस त गर्लान् तर त्यो ‘घर जलाएर खरानीको नाफामूलक व्यापार’ गरेजस्तो हुन सक्छ ।
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता माओवादीका एजेण्डा हुन् । यी एजेण्डा वैद्य माओवादीका पनि हुन् । अहिलेको संविधानले प्रदेशहरुको चित्ताबुझ्दा खाका दिन नसके पनि संघीयता र गणतन्त्रलाई संस्थागत गर्न लागेको छ । यति कुरा संविधानमा संस्थागत गरिसकेपछि बाँकी मागका लागि संघर्ष गर्ने वा राजनीति गर्ने ठाउँ पक्कै रहन्छ ।
जस्तो कि नयाँ संविधानले संघीय आयोगको व्यवस्था गर्नेछ । र, भारतमा जस्तै प्रदेशहरु आपसमा गाभिन वा थपिन सक्ने ढोका पनि संविधानले बन्द गर्ने छैन । यस्तो अवस्थामा प्रदेशको हकमा संविधान बनिसकेपछि पनि संघर्ष गर्ने ठाउँ रहन्छ । तर, सविधानै बनेन भने ? यसले न माओवादीलाई फाइदा हुन्छ, न मधेसवादीलाई ।
त्यसैले वैद्यज्यू, नेपाल बन्द सफल भएकोमा खुशियाली मनाउने क्रममा जनतालाई यो पनि भनिदिनोस् : तपाईको सफल भनिएको नेपालबन्दको माग के हो ? गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने हो कि घर जलाएर खरानी बेच्ने ?
यो कुरालाई मान्न सकिन्छ कि अहिले चार दलले ल्याएको ६ प्रदेशको सीमांकन सबै जातजातिका लागि समन्याय हुनेखालको छैन । तर, यसको समाधान दुई तरिकाले गर्न सकिन्छ, प्रथमतः संविधान बन्नुअगावै यसलाई सच्याएर र दोस्रो संविधान बनिसकेपछि पनि संघीयतालाई सम्वृद्ध पार्दै अगाडि बढेर ।
तर, यसमा वैद्य माओवादी सहमत छैन र उसको नेपाल बन्दको उद्देश्य पनि यो होइन । यो उग्रवामपन्थी अतिवादले दक्षिणपन्थी अतिवादको सेवा गरिरहेको स्पष्ट बुझ्न सकिन्छ । यस्तो उग्र वामपन्थको घोडा चढेर मधेसवादी दलहरु कहाँ पुग्लान् ? प्रश्न गम्भीर छ ।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !