Headlines News :
Home » » अवैध यौनवर्धक औषधी बेच्ने टेलीसपका कुमार भारती पक्राउ

अवैध यौनवर्धक औषधी बेच्ने टेलीसपका कुमार भारती पक्राउ

Written By Unknown on Friday, August 14, 2015 | 7:42 PM

अवैध यौनवर्धक औषधी कालोबजारी गर्दै बेचेको भन्दै महानगरीय प्रहरी वृत्त सिंहदरबारले ग्लोबल टेलिसपका सञ्चालक कुमार भारतीलाई पक्राउ गरेको छ। 
 
महानगरीय प्रहरी वृत्त सिंहदरबारकाअनुसार वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले यही २५ गते ग्लोबल टेलीसपमा छापा मारेको थियो। भारतीले लिङ्ग बढाउने भन्दै डिमडोर ओयल सात सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म बेचेको फेला पारेको थियो। 
 
कालोबजारी गरेको ठहर्दै वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले २५ गते नै भारतीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको जिम्मा लगाएको थियो। महानगरीय प्रहरी वृत्त सिंहदरबारले गत  २६ गते भारतीलाई जिल्ला प्रशासन कार्यालयमा कालोबजारीको मुद्दा दायर गरेको छ। 
 
साथै महानगरीय प्रहरी वृत्त सिंहदरबारले भारतीमाथि छानबिन गर्न लागेको छ। अनुसन्धान पश्चात उनीमाथि के कस्तो कारवाही हुन्छ भन्ने थाहा हुने महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरिक्षक प्रजित केसीले जानकारी दिए। 
वाणिज्य तथा आपुर्ति व्यवस्थापन विभागका प्रवक्ता हरि नारायण बेल्वासेले भारतीले बेच्दै आएको  सो तेलको प्रभावकारिता पुष्टी हुने गरी कुनै प्रमाण नभएको बताउँछन्। बजारमा यस्तो खालको ठगी बढ्दै गएपछि विभागले अहिले यसमा चासो बढाउन लागेको जानकारी दिए। 
 
उनले भने ‘भारती यस खालको ठगी गर्ने एक प्रतिनिधी मात्रै हुन् यस्ता कैयन ठगी गर्नेहरु छन्, कसैले चासो नदिएपछि अहिले यसमा विभागको चासो बढेको छ। ’
 
उनकाअनुसार अहिले टेलीसपहरुले सयौ गुणासम्म नाफा खाएर विभिन्न सामाग्री बेच्ने गरेका छन्। कैयन औषधीहरु बाहिर बनेको भन्दै टेलीसपका सञ्चालकहरुले नेपालमा नै बनाउने गरेका छन्। यस्ता  केही औषधीको खोलहरु नेपालमा बनाउने गरिएको छ।  खोल भित्रको औषधीको धुलो भने नेपालका केही जडिबुटि र अन्य एलोपेथीक औषधीहरुलाई मिसाएर बनाइएको हुन्छ। साथै यस्ता सामाग्री बेच्दा पनि सय गुणा सम्म नाफा खाने गरेको बेल्बासेको भनाई छ । 
 
टेलिसपका व्यवसायीहरुले नेपालमा दर्ता नै नभएका औषधीहरु बेच्दै आएका छन्। यस्ता यौनवर्धक औषधीहरु औषधी व्यवस्था विभागमा दर्ता नभएको स्वयं व्यवसायीहरुले समेत स्वीकार्दै आएका छन्। 
 
लिङ्ग बढाउने भन्दै भारतीले बेच्दै आएको डिमडोर ओयलको प्रभावकारिता सम्बन्धी कुनै प्रमाण नै छैन। भारतीले यो तेलको प्रभावकारिता सम्बन्धी साइन्टिफिक प्रुफ र ल्याव सम्बन्धी कुनै रिपोर्ट पेश गर्न नसकेको बेल्बासेले जानकारी दिए। 
 
अब विभागले यस्ता दिग्भ्रमीत बिज्ञापन दिएर विभिन्न सामाग्री ठग्दै बेच्ने टेलीसपहरुमा निरन्तर छापा मार्ने भएको छ। सुरुवातको रुपमा भारतीको पसलमा छापा मारेको र अन्यलाई समेत कारवाहीको दायरामा ल्याउने विभागको तयारी छ। 
 
यस्ता अधिकांश टेलीसपहरुका कालोबजारी भएको विभागको ठहर छ। टेलीसपमा भएको ठगीको धन्दा कारवाहीको दायरामा ल्याउन वाणिज्य विभागसँगै औषधी व्यवस्था विभागको समेत तयारी छ। औषधीजन्य सामाग्री पनि अहिले टेलीसपहरुले बिक्री गरिरहेका छन्।  विभागमा दर्ता नभएका औषधी बेच्नेहरुलाई कारवाहीको दायरामा ल्याउन विभागले समेत छापा मार्न लागेको छ।
 
विभागले छापा मार्ने तयारी गरेपछि केही टेलीसप र अवैध औषधी राख्ने आयुर्वेदिक पसलहरु अहिले पसलमा रहेका त्यस्ता अवैध सामान अन्यत्र स्थानमा सार्न लागेका छन्। भारती पक्राउ परेसँगै केही टेलीसप र आयुर्वेदिक पसलहरुले यौनवर्धक, हाइट बढाउने तथा मोटाउने औषधी पाइने जानकारी दिदैँ आफ्ना पसलमा राखेका साइनबोर्ड समेत निकाल्न थालेका छन्। 
 
सेताेपाटीले अवैध यौनवर्धक, हाइट बढाउने तथा मोटाउने औषधीहरुको विक्री गर्ने टेलीसप सम्बन्धी  ५ दिनदेखि निरन्तररुपमा समाचार दिदैँ अाएकाे छ। समाचार प्रकाशन भएसँगै यस सम्वद्ध सरकारी नियामक निकायकाे चासाे बढेकाे छ। सेताेपाटीकाे यस सम्बन्धीकाे श्रंखला जारी रहँदै गर्दा ग्लाेबल टेलीसपका भारती पक्राउ परेका हुन्।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar