२५ साउन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थारु समुदायले गर्दै आएको आन्दोलनलाई समर्थन गरेको छ । मोर्चाले थारु समुदायमाथि प्रहरी दमन बन्द गर्न र उनीहरुको उचित माग तत्काल सम्बोधन गर्न पनि माग गरेको छ ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय सम्पर्क कार्यालय वालकुमारीमा सोमबार बसेको संयुक्त मोर्चाको बैठकले सरकारविरुद्व आन्दोलनरत थारु समुदायले उठाएको माग र सबै विरोधका कार्यक्रमप्रति पूर्ण समर्थन र ऐक्यबद्वता जाहेर गर्ने निर्णय गरेको हो ।
‘अखण्ड सुदूरपश्चिमको नाममा थारु समुदायलाई फेरी पनि कमैया, दास बनाइराख्ने र उनीहरुलाई स्रोतसाधनबाट बञ्चित गर्न सरकारले षडयन्त्रमूलक ढंगले देशको सीमांकन गरेकोले पहिचान, समावेशीकरण र प्रादेशिक स्वायत्तताका लागि जारी आन्दोलनलाई उत्कर्षमा पुर्याउन थारु समुदायलाई मोर्चाले समर्थनसहित खुला आह्वान गर्दछ,’ बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।
बैठकमा संघीय समाजवादी फोरम नेपाल, तराई-मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी र तराई-मधेस सद्भावना पार्टी नेपालका नेताहरु सहभागी थिए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !